कर्णालीलाई ३९ रनले हराउँदै सुदूरपश्चिम एनपीएलको दोस्रो स्थानमा

कर्णालीलाई ३९ रनले हराउँदै सुदूरपश्चिम एनपीएलको दोस्रो स्थानमा
काठमाडौं । कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले कर्णालीलाई ३९ रनले हराएको हो। यसअघि तालिकाको छैटौँ स्थानमा रहेको सुदूरपश्चिमले जितसँगै महत्वपूर्ण दुई अंक जोडेको छ।

पाँच खेल खेलेको सुदूरपश्चिमले तीन खेलमा जित र दुई खेलमा हार बेहोर्दै ६ अंक पुर्‍याएको छ। यता, चार खेल खेलेको कर्णालीले दुई खेलमा जित र दुई खेलमा हार बेहोर्दै चार अंकसहित पाँचौँ स्थानमा झरेको छ।

सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो। कर्णालीका लागि डेविड मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ९३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ५४ बलमा पाँच चौका र सात छक्का प्रहार गरे।

त्यस्तै, दीपक डुम्रेले १८ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमका लागि स्कट कुग्लेजिनले दुई विकेट लिए। हेमन्त धामी, अनिल खरेल, दीपेन्द्रसिंह ऐरी, थारिन्दु रत्नायके र अविनाश बोहोराले समान एक–एक विकेट हात पारे।

त्यसअघि टस जितेर कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो।

सुदूरपश्चिमका ओपनर सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ७.३ ओभरमा ६८ रनको साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। भण्डारीले २२ बलमा दुई चौका र दुई छक्कासहित २७ रन बनाए। उनी रन आउट भए।

अर्का ओपनर सैफ जैबले २४ बलमा चार चौका र एक छक्काको मद्दतमा ३५ रन जोडे। उनी सूर्य तामाङको बलमा बोल्ड भए। ब्रान्डन म्याकमुलेनले २४ रन बनाउँदा नन्दन यादवको बलमा क्याच आउट भए।

कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा आउट भए। इशान पाण्डेले १३ बलमा तीन छक्कासहित २३ रन बनाए। उनी मार्क वाटको बलमा क्याच आउट भए। आरिफ शेखले ११ रन जोडे। थारिन्दु रत्नायके २२ र स्कट कुग्लेजिन १३ रनमा अविजित रहे।

कर्णालीका लागि मार्क वाटले दुई विकेट लिए। उनले आफ्नो स्पेलमा २७ रन खर्चिए। नन्दन यादव, हुसेन तलात र सूर्य तामाङले समान एक–एक विकेट लिए। एनपीएलअन्तर्गत शुक्रबार नै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।