

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप २०२७ को ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित नेपालले आगामी डिसेम्बर ४ देखि २१ सम्म घरेलु मैदानमा क्वालिफायर प्लेअफ खेल्ने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगिताको मिति र खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी हुनेछन्। राउन्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगिताबाट शीर्ष चार टोलीले सन् २०२७ को आईसीसी पुरुष क्रिकेट विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले डिसेम्बर ४ मा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेलसँगै माथिल्लो मूलपानी क्रिकेट मैदानमा नामिबिया र युगान्डाबीच अर्को खेल हुनेछ।
प्रतियोगितामा नेपाल, इटाली, नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन्।
ग्लोबल क्वालिफायरमा बाँकी रहेका स्थानका लागि क्यानडा, कुवेत, जर्सी र यूएईले प्रतिस्पर्धा गर्नेछन्। यसअघि नै वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले ग्लोबल क्वालिफायरमा स्थान बनाइसकेका छन्।
विश्वकप २०२७ का लागि पूर्ण सदस्य राष्ट्र तथा सहआयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेसहित उच्च वरीयताका वेस्ट इन्डिज र आयरल्यान्डले स्वतः छनोट हुने अवसर पाएका छन्। त्यस्तै, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शीर्ष चारमा रहँदै ग्लोबल क्वालिफायरमा पुगिसकेका छन्।
नेपालका लागि घरेलु मैदानमा हुने यो प्रतियोगिता विश्वकपसम्म पुग्ने यात्राको महत्वपूर्ण अवसर हुनेछ। शीर्ष चारमा पर्न सके नेपालले ग्लोबल क्वालिफायर खेल्ने बाटो खुल्नेछ।
| मिति | त्रिवि क्रिकेट मैदान | माथिल्लो मूलपानी मैदान |
|---|---|---|
| डिसेम्बर ४ | नेपाल–इटाली | नामिबिया–युगान्डा |
| डिसेम्बर ५ | यूएई–जर्सी | कुवेत–क्यानडा |
| डिसेम्बर ६ | नेपाल–युगान्डा | इटाली–नामिबिया |
| डिसेम्बर ७ | कुवेत–जर्सी | क्यानडा–यूएई |
| डिसेम्बर ९ | क्यानडा–इटाली | जर्सी–युगान्डा |
| डिसेम्बर १० | नेपाल–यूएई | कुवेत–नामिबिया |
| डिसेम्बर १२ | नेपाल–जर्सी | नामिबिया–क्यानडा |
| डिसेम्बर १३ | युगान्डा–कुवेत | यूएई–इटाली |
| डिसेम्बर १४ | नेपाल–क्यानडा | जर्सी–नामिबिया |
| डिसेम्बर १५ | युगान्डा–इटाली | यूएई–कुवेत |
| डिसेम्बर १७ | इटाली–कुवेत | जर्सी–क्यानडा |
| डिसेम्बर १८ | नेपाल–नामिबिया | युगान्डा–यूएई |
| डिसेम्बर २० | नामिबिया–यूएई | इटाली–जर्सी |
| डिसेम्बर २१ | नेपाल–कुवेत | क्यानडा–युगान्डा |