

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट लयमा रहेको लुम्बिनी लायन्सको अपराजित यात्रा रोकिएको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनीलाई ३६ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो।
काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै समेटियो। लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए। अभिषेक गौतमले १६, निरोशन डिकवेलाले १४ र रुबेन ट्रम्पलमानले ११ रनको योगदान दिए।
लुम्बिनीको ब्याटिङ धराशायी बनाउन काठमाडौंका जहानदाद खानले सर्वाधिक चार विकेट लिए। करण केसीले दुई विकेट हात पार्दा सन्तोष यादव, शाह आलम, राशिद खान र सहान अरच्चिगेले समान एक–एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६० रन बनाएको थियो। काठमाडौंका ओपनरद्वय डेभिड वार्नर र साहिल पटेलले आक्रामक सुरुवात गर्दै पावरप्लेमा टोलीको स्कोर ४५ रन पुर्याएका थिए।
वार्नरले सर्वाधिक ६६ रनको योगदान दिए भने साहिल पटेलले ३८ रन बनाए। त्यस्तै सहान अरच्चिगेले आक्रामक ब्याटिङ गर्दै अविजित ३४ रन जोडेपछि काठमाडौंले प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।
बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलमान, शेर मल्ल र अभिषेक गौतमले समान दुई–दुई विकेट लिए।
यस जितसँगै चार खेल खेलेको काठमाडौंले तीन जितसहित प्रतियोगितामा आफ्नो स्थिति थप बलियो बनाएको छ। अर्कोतर्फ, लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको लुम्बिनीले पहिलो हार बेहोरेको छ।