राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता, संसद् अधिवेशन आह्वानबारे छलफल

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता, संसद् अधिवेशन आह्वानबारे छलफल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ। भेटमा संसद्को अधिवेशन आह्वान, संसद् सञ्चालन तथा अन्तर्राष्ट्रिय संसदीय सम्मेलनलगायतका विषयमा छलफल भएको छ।

भेटका क्रममा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुखले जानकारी गराएका थिए।

भेटमा संसद्को अधिवेशन आह्वान गरी संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो। सभामुख अर्यालले विभिन्न राजनीतिक दलका नेताहरूसँग भएको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी राष्ट्रपति पौडेललाई गराएका थिए।

यसैगरी, सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभाका अन्य पदाधिकारीसहित राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि उनले जानकारी गराएका थिए।

सो अवसरमा राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुने धारणा व्यक्त गरे। संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारका कामकारबाहीबारे समेत चासो राखेका थिए।