पोखरा एभेन्जर्समा क्यानडाका युवा ओपनर युवराज सामरा अनुबन्धित

पोखरा एभेन्जर्समा क्यानडाका युवा ओपनर युवराज सामरा अनुबन्धित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लगातार तीन खेलमा पराजित हुँदै दबाबमा परेको पोखरा एभेन्जर्सले ब्याटिङ बलियो बनाउने उद्देश्यसहित क्यानडाका युवा ओपनर युवराज सामरालाई अनुबन्ध गरेको छ। २० वर्षीय सामरा नेपाल आइपुगेका छन्।

आक्रामक ब्याटिङका कारण अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चामा रहेका सामराले सन् २०२६ को टी-२० विश्वकपमा न्युजिल्यान्डविरुद्ध अविस्मरणीय शतकीय इनिङ्स खेलेका थिए। चेन्नईमा भएको उक्त खेलमा उनले ६५ बलमा ११ चौका र ६ छक्काको मद्दतले ११० रन बनाएका थिए।

उक्त शतकसँगै सामरा टी-२० विश्वकपमा शतक प्रहार गर्ने एसोसिएट राष्ट्रका पहिलो खेलाडी बनेका थिए। साथै, टी-२० विश्वकपको इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान पनि उनकै नाममा छ। उनले उत्कृष्ट प्रदर्शन गरे पनि उक्त खेलमा क्यानडा भने न्युजिल्यान्डसँग पराजित भएको थियो।

सामराले क्यानडाका लागि २० टी-२० अन्तर्राष्ट्रिय खेलमा ५८६ रन बनाएका छन्। यस क्रममा उनको ब्याटिङ औसत ३६.६३ र स्ट्राइक रेट १५९.६७ रहेको छ। उनले एक शतक र तीन अर्धशतक प्रहार गरेका छन्।

त्यस्तै, १९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले ४९५ रन बनाएका छन्। यस क्रममा एक शतक र तीन अर्धशतक प्रहार गरेका सामराको उच्च स्कोर १०५ रन हो।

नेपालविरुद्धको पछिल्लो भेटमा पनि सामराले प्रभावशाली प्रदर्शन गरेका थिए। अक्टोबर १७ मा ओमानमा भएको खेलमा उनले नेपालविरुद्ध ११७ बलमा १०५ रन बनाएका थिए। यद्यपि, उक्त खेलमा नेपालले क्यानडालाई पराजित गरेको थियो।

एनपीएलको तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन। टोली पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले, दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ९ रनले र तेस्रो खेलमा लुम्बिनी लायन्ससँग ८ विकेटले पराजित भएको थियो।

तीनवटै खेलमा पोखराको ब्याटिङ कमजोर देखिएको छ। यस्तो अवस्थामा सामराको आगमनले टोलीको शीर्षक्रममा नयाँ ऊर्जा थप्ने र ब्याटिङलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

पोखराको टोलीमा यसअघि नै शाकिब अल हसन, मेहदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने र धनञ्जय लक्षानजस्ता विदेशी खेलाडी छन्। आज चितवन राइनोजसँग प्रतिस्पर्धा गर्न लागेको पोखराबाट सामराले डेब्यू गर्ने अपेक्षा गरिएको छ।