

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले निराशाजनक ब्याटिङ गरेको छ । ओमानको अल अमेरातमा शुक्रबार भएको समूह ‘ए’ को खेलमा नेपाल ४२.३ ओभरमा १२८ रनमै अलआउट भएको हो ।
नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य पछ्याउँदै भारतले जितका लागि खेल्नेछ ।
नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । उनले ९३ बलको सामना गर्दै एक चौका प्रहार गरे । त्यस्तै, आशिष लुहारले ४५ बलमा २९ रन जोडे । अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् ।
नेपालको सुरुवात निकै खराब रह्यो । टोलीले ८.३ ओभरमा २७ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । प्रारम्भिक ब्याटरहरू सस्तैमा आउट भएपछि नेपाल सुरुदेखि नै दबाबमा परेको थियो ।
त्यसपछि दर्श सोनार र आशिष लुहारले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि नेपालको स्कोर प्रतिस्पर्धात्मक बनाउन सकेनन् ।
भारतका अर्जुन राजपुतले उत्कृष्ट बलिङ गर्दै ५.३ ओभरमा आठ रन खर्चेर तीन विकेट लिए । भारतीय बलरहरूले सुरुदेखि नै नेपाली ब्याटरलाई दबाबमा राखेका थिए ।
यस प्रतियोगितामा नेपालको यो पहिलो खेल हो । समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । १२९ रनको लक्ष्य पाएको भारतविरुद्ध नेपालले अब बलिङमा उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । भारतीय ब्याटरलाई सुरुमै दबाबमा राख्न सके नेपालसँग खेलमा फर्कने अवसर हुनेछ ।