यू-१९ एसिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

यू-१९ एसिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ। शुक्रबार भएको समूह ‘ए’ को खेलमा नेपालले दिएको १२९ रनको लक्ष्य भारतले १९.१ ओभरमै कुनै विकेट नगुमाई पूरा गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४२.३ ओभरमा १२८ रनमै समेटिएको थियो। नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए। उनले ९३ बलमा एक चौका र एक छक्का प्रहार गरे। त्यस्तै, आशिष लुहारले २९ र निरजकुमार यादवले २० रनको योगदान दिए। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा नेपालको इनिङ्स सस्तैमा समेटिएको थियो।

१२९ रनको लक्ष्य पछ्याएको भारतका लागि आर्यवीर सहवागले अविजित ७० रन बनाए। उनले ५२ बलमा सात चौका र चार छक्का प्रहार गरे। त्यस्तै, कप्तान लक्ष्य रायचन्दानीले ६३ बलमा सात चौकासहित अविजित ५३ रन बनाए।

यी दुई ब्याटरले पहिलो विकेटका लागि १२९ रनको अविजित साझेदारी गर्दै भारतलाई सहज जित दिलाए। भारतीय ब्याटरलाई रोक्न नसक्दा नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन्। यस जितसँगै भारतले समूह चरणमा दुई अंक जोडेको छ। पहिलो खेलमै पराजित भएपछि नेपालको आगामी यात्रा चुनौतीपूर्ण बनेको छ। नेपालले अब समूह चरणमा यूएई र पाकिस्तानसँग खेल्नेछ।