

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा आज दुई खेल हुँदैछन्। शुक्रबार हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्नेछन् भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। त्यस्तै, चितवन र पोखराबीचको दोस्रो खेल अपराह्न ५ बजे सुरु हुनेछ। पहिलो खेलमा कर्णाली तेस्रो जितको खोजीमा हुनेछ। तीन खेल खेलेको कर्णालीले दुईमा जित र एकमा हार व्यहोरेको छ। लगातार दुई जित निकालेको कर्णाली पछिल्लो खेलमा काठमाडौं गोर्खाजसँग पराजित भएको थियो।
यता, सुदूरपश्चिम रोयल्स पनि जितको लय कायम राख्ने लक्ष्यमा छ। चार खेल खेलेको सुदूरपश्चिमले दुईमा जित र दुईमा हार बेहोरेको छ। कर्णालीलाई पराजित गर्दै अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने उसको योजना छ।
आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स पहिलो जितको खोजीमा मैदान उत्रनेछ। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेल खेल्दा तीनैमा हार व्यहोरेको छ। त्यसैले चितवनलाई हराउँदै जितको खाता खोल्ने दबाबमा पोखरा हुनेछ।
यता, चितवन राइनोज भने जित निकाल्दै प्लेअफ यात्रालाई बलियो बनाउन चाहन्छ। चार खेल खेलेको चितवनले दुईमा जित, एकमा हार र एक खेलमा वर्षाका कारण अंक बाँडेको छ। जारी प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।