

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्समा अनुबन्धित दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन्। ३७ वर्षीय मिलर कर्णाली याक्समा अनुबन्ध हुने छैटौँ विदेशी खेलाडी हुन्। दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीसँगै विश्वका चर्चित फ्रेन्चाइज क्रिकेट लिगमा समेत आफ्नो प्रभाव जमाएका मिलरको आगमनले कर्णाली याक्सको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ।
मिलरले भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तान प्रिमियर लिगलगायत विभिन्न फ्रेन्चाइज प्रतियोगिता खेलिसकेका छन्। आईपीएलमा उनले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले पहिलोपटक आईपीएलको उपाधि जित्दा मिलर टोलीका महत्वपूर्ण खेलाडी थिए।
दक्षिण अफ्रिकाका लागि १४० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका मिलरले २ हजार ८०४ रन बनाएका छन्। यस क्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन्। उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र बंगलादेशविरुद्ध शतक बनाएका थिए।
समग्र टी-२० क्रिकेटमा भने मिलरले ५८४ खेलमा १२ हजार ४३५ रन बनाएको विवरण छ। यस क्रममा उनले चार शतक र ५३ अर्धशतक प्रहार गरेका छन्।
मिलरले सन् २०१७ मा बंगलादेशविरुद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा ३५ बलमै शतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए। यस्तै, आईपीएलमा किङ्स इलेभेन पञ्जाबबाट खेल्दा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ३८ बलमै शतक बनाएका थिए।