

काठमाडौं । काठमाडौँ गोर्खाजमा अनुबन्ध भएका भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नखेल्ने भएका छन्। काठमाडौँ गोर्खाजले सामाजिक सञ्जालमार्फत भरत यस सिजन टोलीमा आबद्ध नहुने जानकारी दिएको हो।
क्लबले फेसबुकमा लेखेको छ, ‘व्यस्तताका कारण केएस भरत यस सिजनमा हामीसँग जोडिने छैनन्। हामी उनको उज्ज्वल भविष्यको कामना गर्दछौँ।’ ३२ वर्षीय भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका थिए। उनले भारतका लागि टेस्ट क्रिकेट खेलेका छन्।
भरतले टी-२० क्रिकेटमा ९१ खेल खेल्दै एक हजार ८०० भन्दा बढी रन बनाएका छन्। विकेटकिपिङसँगै मध्यक्रममा ब्याटिङ गर्न सक्ने उनी सन् २०२४ को इन्डियन प्रिमियर लिग (आईपीएल) उपाधि विजेता कोलकाता नाइट राइडर्स टोलीका सदस्यसमेत थिए। काठमाडौँ गोर्खाजले गत भदौको पहिलो साता भरतलाई एनपीएलको तेस्रो संस्करणका लागि टोलीमा अनुबन्ध गरेको जानकारी दिएको थियो।