

काठमाडौं । आन्द्रे रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ। ब्याटिङमा अर्धशतक प्रहार गरेका रसेलले बलिङमा चार विकेट लिँदै विराटनगरलाई रोमाञ्चक जित दिलाएका हुन्।
विराटनगरले दिएको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। जनकपुरलाई अन्तिम बलमा जितका लागि आवश्यक रन बनाउन नदिएका रसेलले सेफ हसनलाई बसिर अहमदबाट क्याचआउट गराए।
जनकपुरका लागि बंगलादेशी खेलाडी सेफ हसनले सर्वाधिक ७१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। ४८ बल खेलेका उनले दुई चौका र पाँच छक्का प्रहार गरे। विशाल सुशीलिङले ४३ र जिमी निशमले २९ रन जोडे।
जनकपुरले ३० रन बनाउँदा सुरुवाती तीन विकेट गुमाएको थियो। त्यसपछि सेफ हसन र विशाल सुशीलिङले चौथो विकेटका लागि ७६ रनको साझेदारी गर्दै टोलीलाई सम्हालेका थिए। पहिलो खेल खेलेका विशालले ३० बलमा दुई चौका र तीन छक्कासहित ४३ रन बनाए।
विशाल आउट भएपछि जिमी निशमले हसनलाई साथ दिएका थिए। निशमले १५ बलमा तीन चौका र आक्रामक ब्याटिङ गर्दै २९ रन जोडे। पाँचौँ विकेटका लागि हसन र निशमले ५६ रनको साझेदारी गरे।
तर, रुपेश सिंहले १९औँ ओभरको अन्तिम बलमा निशमलाई आउट गरेपछि विराटनगर खेलमा फर्किएको थियो। अन्तिमसम्म क्रिजमा रहेका हसनलाई रसेलले अन्तिम बलमा आउट गरेपछि जनकपुरको जित्ने सम्भावना समाप्त भयो।
बलिङतर्फ विराटनगरका रसेलले चार ओभरमा ४५ रन खर्चेर चार विकेट लिए। एन्जेलो म्याथ्युजले दुई तथा रुपेश सिंहले एक विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको थियो। उसका लागि इमरान शेखले सर्वाधिक ५६, आन्द्रे रसेलले अविजित ५२ र लोकेश बमले ५० रन बनाए।
एनपीएल इतिहासमा एउटै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो। इमरानले ४५ बलमा पाँच चौका र दुई छक्कासहित ५६ रन बनाए। लोकेशले ४० बलमा समान तीन चौका र छक्काको मद्दतमा ५० रन जोडे।
ओपनर शेहान जयसूर्या दुई रनमै आउट भएपछि क्रिजमा आएका इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए। जारी सिजनको यो पहिलो शतकीय साझेदारीसमेत हो।
त्यस्तै, आक्रामक ब्याटिङ गरेका रसेलले २९ बलमा दुई चौका र पाँच छक्कासहित अविजित ५२ रन बनाए। शुभम रञ्जाने सात रनमा अविजित रहे।
जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए।
यस जितसँगै लगातार दुई खेल जितेको विराटनगरले चार खेलबाट चार अंक जोडेको छ। सुरुवाती दुई खेलमा पराजित भएको विराटनगरले त्यसपछिका दुई खेलमा जित निकालेको हो। चार खेल खेलेको जनकपुरको पनि चार अंक छ। टोलीले दुई खेल जित्दा दुई खेलमा हार बेहोरेको छ।