

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ। सोमबार भएको खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो।
कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमा अलआउट भयो।
जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। कप्तान हरमित सिंह र मोइन अलीले समान १९ रन जोडे। जिमी निशमले १५ तथा मायन यादवले १४ रन बनाए।
त्यस्तै, अनिलकुमार शाहले ११, कुशल परेवाले ६ र तृतराज दासले एक रन बनाए। आदित्य मेहता रन नजोडी आउट भए। ललित राजवंशीले एक रन बनाए भने राहुल यादव एक रनमा अविजित रहे।
कर्णालीका युनिस ठकुरी र हुसेन तलातले समान तीन–तीन विकेट लिए। युनिसले चार ओभरमा एक मेडन राख्दै तीन विकेट लिए। उनले एउटै ओभरमा जनकपुरका कप्तान हरमित सिंह र जिमी निशमलाई आउट गरेपछि खेल कर्णालीको पक्षमा मोडिएको थियो।
नन्दन यादवले दुई तथा कप्तान सोमपाल कामीले एक विकेट लिए।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। पवन सर्राफले ३७ बलमा ३७ रन जोडे।
कर्णालीले सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमाएको थियो। पहिलो ओभरको अन्तिम बलमा ओपनर मार्क वाट एक रन बनाएर आउट भए। चार रन हुँदा पहिलो विकेट गुमाएको कर्णालीले थप १४ रन जोड्दा दोस्रो विकेट गुमायो।
जनकपुरका लागि एनपीएलमा डेब्यु गरेका राहुल यादवले पहिलो बलमै विकेट लिँदै दीपक डुम्रेलाई १३ रनमा आउट गरे। कर्णालीले ३७ रन जोड्दा तेस्रो विकेटका रूपमा हुसेन तलात तीन रन बनाएर पभेलियन फर्किए।
त्यसपछि अरिफुल इस्लाम र पवन सर्राफले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्दै कर्णालीको इनिङ्स सम्हाल्ने प्रयास गरे। अरिफुल ४३ र पवन ३७ रन बनाएर आउट भए। त्यसपछि अकबर अली र कप्तान सोमपाल कामीले समान एक रन बनाए भने गुल्सन झाले १२ रन जोडे। नन्दन यादव नौ रनमा आउट भए। युवराज खत्री र युनिस ठकुरी अविजित रहे।
जनकपुरका लागि कप्तान हरमित सिंहले तीन विकेट लिए। मोइन अली र राहुल यादवले समान दुई तथा ललित राजवंशीले एक विकेट लिए।
यस जितसँगै कर्णालीले एनपीएलको तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत मंगलबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।