एनपीएल : जनकपुरलाई कर्णालीले दियो १३३ रनको लक्ष्य

एनपीएल : जनकपुरलाई कर्णालीले दियो १३३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको हो।

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलको सामना गरे। पवन सर्राफले ३७ बलमा ३७ रन जोडे भने दीपक डुम्रेले पाँच बलमा आक्रामक १३ रन बनाए। त्यस्तै, गुल्सन झाले १२ बलमा १२ रन बनाए। नन्दन यादवले १२ बलमा ९ रन जोडे। हुसेन तलातले १३ बलमा तीन, सोमपाल कामीले पाँच बलमा एक, अकबर अलीले दुई बलमा एक र ओपनर मार्क वाटले एक रन बनाए।

जनकपुरका लागि कप्तान हरमित सिंहले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा एक मेडनसहित २२ रन खर्चेर तीन विकेट लिए। मोइन अली र राहुल यादवले समान दुई–दुई विकेट लिए। ललित राजवंशीले एक विकेट हात पारे। ललितले तीन ओभरमा ३८ रन खर्चिए। जनकपुरका जेम्स निशम, आदित्य महता र अभिषेक तिवारीले भने विकेट लिन सकेनन्। कर्णालीले अतिरिक्तबाट ११ रन पाएको थियो। अब १३३ रनको लक्ष्य पछ्याउँदै जनकपुरले जवाफी ब्याटिङ गर्नेछ।