

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ। टसपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटिएको हो। सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पार्ने क्रममा लुम्बिनीका किशोर महतोले चार विकेट लिए भने शेर मल्लले तीन विकेट हात पारे। त्यस्तै, शाड्ली भान, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक–एक विकेट लिए।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। उनले २३ बलको सामना गरे। त्यसपछि शैफ अली जैबले १४ बलमा १३ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमले २४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। चौथो ओभरको पहिलो बलमा शेर मल्लले विनोद भण्डारीलाई एलबीडब्ल्यू आउट गराए। विनोदले नौ रन बनाउँदा आरिफ शेख खाता नखोली पेभेलियन फर्किए।
त्यसपछि पनि सुदूरपश्चिमको विकेट पतन रोकिएन। ३४ रन पुग्दा टोलीले चार विकेट गुमाइसकेको थियो। शैफ अली जैब १३, ब्रान्डन म्याकमुलेन दुई र इशान पाण्डे सात रनमा आउट भए।
सुदूरपश्चिमका शेर्फेन रदरफोर्ड एक रनमा आउट भए भने स्कट कुगेलेइन र हेमन्त धामीले खाता खोल्न सकेनन्। अनिल खरेलले सात रन बनाए। अविनाश बोहरा भने अविजित रहे। लुम्बिनीका बलरहरूको प्रभावशाली प्रदर्शनका कारण सुदूरपश्चिमले ठूलो योगफल बनाउन सकेन। अब लुम्बिनी लायन्सले जितका लागि ८८ रन बनाउनुपर्नेछ।