प्रधानमन्त्री बालेन शाहले आज एनपीएल उद्घाटन गर्ने

प्रधानमन्त्री बालेन शाहले आज एनपीएल उद्घाटन गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा आजदेखि प्रतियोगिता सुरु हुँदैछ। प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने जानकारी उनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले दिएकी हुन्।

प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। उनले प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई सफलताको शुभकामना दिएका हुन्।

“नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ। लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्,” उनले भनेका छन्।

उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल अपराह्न ४ः३० बजे सुरु हुने तालिका छ। प्रतियोगितामा लुम्बिनी र सुदूरपश्चिमसहित जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोली सहभागी छन्। एनपीएलका खेल हिमालय स्पोर्ट्स र अनलाइनखबर डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछन्।