एनपीएलको तयारी पूरा, विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने

एनपीएलको तयारी पूरा, विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारी पूरा भएको जनाएको छ। सोमबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

आइतबार त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा क्यानले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। क्यानका अनुसार यस संस्करणको उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार एनपीएल गभर्निङ काउन्सिलको सल्लाह र क्यान अध्यक्षको सहमतिमा यस संस्करणको पुरस्कार राशि उल्लेख्य रूपमा वृद्धि गरिएको हो।

खड्काले प्रतियोगिताको मुख्य प्रायोजकबाट मात्रै करिब २० करोड रुपैयाँ प्राप्त भएको जानकारी दिए। प्रायोजन, टिकट बिक्री तथा टिकटिङ साझेदारबाट हुने कारोबारसमेत जोड्दा एनपीएलसँग सम्बन्धित कुल कारोबार ७० देखि ७५ करोड रुपैयाँसम्म पुग्ने उनको अनुमान छ।

टोलीका मालिकहरूले गर्ने खर्चसमेत जोड्दा प्रतियोगिताको करिब एक महिनाको अवधिमा एनपीएलको कुल कारोबार १ अर्ब ५० करोड रुपैयाँसम्म पुग्ने खड्काले बताए।

विदेशी खेलाडीको अनुमतिका लागि सम्बन्धित बोर्डसँग समन्वय

पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले विदेशी खेलाडीले आफ्नो सम्बन्धित क्रिकेट बोर्डबाट अनापत्ति प्रमाणपत्र (एनओसी) लिनुपर्ने व्यवस्था रहेको बताए। यसका लागि क्यानले सम्बन्धित क्रिकेट बोर्डहरूसँग निरन्तर समन्वय गरिरहेको उनको भनाइ थियो।

उनले नोभेम्बर १५ मा एनपीएलको लिग चरणका खेलहरू समाप्त हुने जानकारी दिँदै दोस्रो चरणमा छनोट हुन नसक्ने चार टोलीका खेलाडीलाई समेटेर ‘राइजिङ स्टार्स’ टोली बनाइने बताए। उक्त टोलीलाई एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटको अभ्यास तथा खेलमा सहभागी गराउने योजना रहेको उनले जानकारी दिए।

आठ टोलीको सहभागिता, पहिलोपटक डीआरएस प्रणाली

एनपीएलको तेस्रो संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको क्यानले जनाएको छ। प्रतियोगितामा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) लागू गरिने पनि क्यानले जानकारी दिएको छ। यस प्रणालीले अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्न पाउने व्यवस्था गर्छ।

पुरस्कार राशिमा वृद्धि, डीआरएस प्रणालीको प्रयोग र अन्तर्राष्ट्रिय मान्यतासहित आयोजना हुन लागेको तेस्रो संस्करणलाई नेपाली क्रिकेटको व्यावसायिक विकाससँग जोडेर हेरिएको छ।