मूल्य घटेपछि निजी पेट्रोल पम्पमा कृत्रिम अभाव, निगमद्वारा अनुगमन र कारबाही सुरु

मूल्य घटेपछि निजी पेट्रोल पम्पमा कृत्रिम अभाव, निगमद्वारा अनुगमन र कारबाही सुरु

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएको भोलिपल्टै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निजी पेट्रोल पम्पहरूले पेट्रोल बिक्री वितरण रोकेपछि इन्धन अभावको अवस्था देखिएको छ। अधिकांश निजी पम्पले ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसेर बिक्री बन्द गरेका छन् भने सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा सवारीसाधनको लामो लाइन लागेको छ।

उपत्यकामा नेपाल प्रहरीको पेट्रोल पम्पमा बिहानैदेखि सवारीसाधनको भीड लागेको छ। बानेश्वर आसपासका अधिकांश निजी पेट्रोल पम्प बन्द देखिएका छन्। यस्तै, उपत्यका बाहिरका विभिन्न जिल्लामा पनि केही पेट्रोल पम्पले बिक्री वितरण रोकेका छन्।

नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको थियो। मूल्य समायोजन भएको केही घण्टामै बजारमा इन्धन अभावको अवस्था देखिएपछि उपभोक्तामा अन्योल र चिन्ता बढेको छ।

यद्यपि, नेपाल आयल निगमले बजारमा इन्धनको वास्तविक अभाव नरहेको स्पष्ट पारेको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार केही व्यवसायीले अतिरिक्त नाफा कमाउने उद्देश्यले मूल्य घट्ने जानकारी पाएपछि इन्धन लोड नगरी कृत्रिम अभाव सिर्जना गरेका हुन्।

उनले निगमसँग पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको र आपूर्ति नियमित भइरहेको बताउँदै, जानाजानी इन्धन नलोड गर्ने तथा ‘इन्धन छैन’ भनेर उपभोक्तालाई भ्रममा पार्ने पेट्रोल पम्पमाथि अनुगमन सुरु गरिएको जानकारी दिए।

प्रवक्ता ठाकुरले इन्धन सहज रूपमा उपलब्ध हुँदाहुँदै पनि बिक्री नगर्ने वा मूल्य घट्ने थाहा पाएपछि लोड नगर्ने पेट्रोल पम्पलाई तत्काल कारबाहीको दायरामा ल्याइने चेतावनी दिए। त्यस्ता पम्पमा ‘इन्धन छैन’ भन्ने बोर्ड राखिएको भेटिए सिलसमेत गरिने उनले बताए।

उनका अनुसार केही पम्पको भण्डारण क्षमता सीमित भएका कारण कतिपय स्थानमा आपूर्तिमा सामान्य ढिलाइ हुन सक्ने भए पनि समग्र बजारका लागि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध रहेकाले उपभोक्ताले हल्लाको पछि नलाग्न निगमले आग्रह गरेको छ।