ट्राफिक प्रहरीलाई चालकसँग हात नमिलाउन निर्देशन, ‘नमस्ते’ गर्न मात्र आग्रह

ट्राफिक प्रहरीलाई चालकसँग हात नमिलाउन निर्देशन, ‘नमस्ते’ गर्न मात्र आग्रह

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्युटीमा खटिने ट्राफिक प्रहरी कर्मचारीहरूलाई सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नमिलाउन कडा निर्देशन दिएको छ।

चेकिङ तथा अन्य ड्युटीका क्रममा ट्राफिक प्रहरी र सेवाग्राहीबीच हात मिलाइएको दृश्यलाई लिएर सामाजिक सञ्जाल तथा नागरिकस्तरबाट गुनासो आएपछि कार्यालयले औपचारिक सर्कुलर जारी गरेको हो।

उपत्यकाभित्रका सबै ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग र पोस्टहरूलाई पठाइएको सर्कुलरमार्फत ड्युटीको समयमा हात मिलाउने कार्य पूर्ण रूपमा निषेध गरिएको छ।

कार्यालयका एसपी नरेशराज सुवेदीद्वारा हस्ताक्षरित सर्कुलरमा ट्राफिक प्रहरी कर्मचारीहरूले सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नमिलाई टाढैबाट ‘नमस्ते’ गरेर सम्मान व्यक्त गर्न निर्देशन दिइएको उल्लेख छ।

सर्कुलरमा भनिएको छ कि चेकिङका क्रममा हात मिलाएको दृश्यलाई नागरिकहरूले विभिन्न कोणबाट हेर्ने गरेका छन्, जसले ट्राफिक प्रहरीको व्यावसायिक आचरण र निष्पक्षतामाथि प्रश्न उठाउन सक्छ। त्यसैले अबदेखि हात मिलाउने अभ्यासलाई पूर्ण रूपमा निरुत्साहित गर्दै ‘नमस्ते’ संस्कृतिलाई प्राथमिकता दिन भनिएको छ। ट्राफिक प्रहरीका अधिकारीहरूका अनुसार यो व्यवस्था सेवाप्रवाहलाई थप पारदर्शी, मर्यादित र व्यावसायिक बनाउन लागू गरिएको हो।