

काठमाडौं । मगर समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व भूम्या (भूमे) सोमबारदेखि सुरु भएको छ। भूमिको पूजा गरी प्राकृतिक प्रकोपबाट जोगिन, अन्न उत्पादन राम्रो होस् र रोगव्याधिबाट मुक्ति मिलोस् भन्ने कामनासहित मनाइने यो पर्व मगर समुदायले विशेष श्रद्धा र उत्साहका साथ मनाउने गर्छन्।
रिडी नदी पश्चिम क्षेत्रमा बसोवास गर्ने मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म भूम्या पर्व मनाउने परम्परा रहेको छ। काठमाडौं उपत्यकामा भने यो पर्व असार ३ गतेसम्म मनाइने जनाइएको छ। नेपाल मगर संघले पनि भूम्या पर्वको अवसरमा बुधबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमअन्तर्गत विभिन्न सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्य तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिने संघले जनाएको छ।
मगर समुदायमा भूम्या पर्वलाई प्रकृतिप्रति सम्मान व्यक्त गर्ने तथा सामूहिक सद्भाव र एकताको प्रतीकका रूपमा लिइन्छ। पर्वका अवसरमा आफू बसोवास गर्ने भूमिको पूजा गरी सुख, शान्ति, समृद्धि र राम्रो उब्जनीको कामना गर्ने परम्परा रहिआएको छ। पछिल्लो समय देशका विभिन्न जिल्लासहित राजधानीमा पनि भूम्या पर्वलाई सांस्कृतिक पहिचान र मौलिक परम्पराको संरक्षणका रूपमा भव्य रूपमा मनाउने गरिएको छ।