इन्द्रचोकमा पेस्तोल देखाएर लुटपाट प्रयास गर्ने तीन युवक पक्राउ

इन्द्रचोकमा पेस्तोल देखाएर लुटपाट प्रयास गर्ने तीन युवक पक्राउ

काठमाडौं । काठमाडौँको इन्द्रचोक–भेडासिंह क्षेत्रमा रहेको एक सुनचाँदी पसलमा पेस्तोल देखाउँदै लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ।

वैशाख १७ गते दिउँसै भएको घटनामा ‘नैना एन्ड इशान ज्वेलरी’की सञ्चालक बबिता रौनियारले साहसिक प्रतिकार गरेपछि आरोपीहरू फरार भएका थिए।

घटनापछि गरिएको अनुसन्धान र खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–६ का २९ वर्षीय हरिकृष्ण महर्जन, विकेश राजबाहक र अरुण भुजेल रहेका छन्। प्रहरीका अनुसार उनीहरू अघिल्ला विभिन्न आपराधिक घटनामा पनि संलग्न रहेको देखिएको छ।

महर्जनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो भने विकेश र अरुणलाई काठमाडौँ प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो। अरुण भुजेलको साथबाट घटनामा प्रयोग गरिएको पेस्तोलसमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महर्जनले घटनापछि आफूले लगाएको कपडा घटनास्थल नजिकै फालेर हुलिया परिवर्तन गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।