भ्रामक सामग्री नफैलाउन सरकारको आग्रह, जिम्मेवार सञ्चारका लागि अपिल

भ्रामक सामग्री नफैलाउन सरकारको आग्रह, जिम्मेवार सञ्चारका लागि अपिल

काठमाडौं । सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ।

प्रेस विज्ञप्ति जारी गर्दै सरकारले यस्ता गतिविधिले समाजमा भ्रम सिर्जना गर्नुका साथै सार्वजनिक शान्ति र सुरक्षामा नकारात्मक असर पार्न सक्ने जनाएको हो।

विज्ञप्तिमा पछिल्लो समय विभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जालमार्फत अपुष्ट तथा भ्रामक समाचारहरू फैलिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता सामग्रीले सरकार तथा सुरक्षा निकायप्रति नागरिकको विश्वास कमजोर बनाउन सक्ने उल्लेख गरिएको छ। त्यसैले यस्ता गतिविधिमा संलग्न नहुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।

सरकारले अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार र संयमित ढङ्गले सामग्री प्रकाशन तथा साझेदारी गर्न पनि आग्रह गरेको छ। आधिकारिक पुष्टि नभएका समाचार वा सूचना प्रसारण नगर्न, स्रोतको विश्वसनीयता सुनिश्चित गर्न र तथ्यमा आधारित सामग्री मात्र सार्वजनिक गर्न विशेष जोड दिइएको छ।

त्यस्तै, कुनै पनि व्यक्तिको मानमर्दन हुने, सामाजिक सद्भाव खल्बल्याउने वा राष्ट्रिय सुरक्षामा असर पार्ने खालका सामग्री प्रकाशन नगर्न सचेत गराइएको छ।

सरकारले यस्ता गतिविधि कानुनअनुसार दण्डनीय हुने स्पष्ट पार्दै सञ्चारमाध्यमहरूलाई पत्रकारिताको आचारसंहिता पालना गर्न आग्रह गरेको छ। आवश्यक सूचना प्राप्त गर्न सम्बन्धित निकायसँग सम्पर्क गरी आधिकारिक जानकारी लिन पनि अनुरोध गरिएको छ।