टेलिकमको खुद नाफा ६ अर्ब, राजधानीसहित मुख्य सहरमा छिट्टै फाइभजी सेवा सुरु गर्ने तयारी

टेलिकमको खुद नाफा ६ अर्ब, राजधानीसहित मुख्य सहरमा छिट्टै फाइभजी सेवा सुरु गर्ने तयारी

काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बुधबार सम्पन्न कम्पनीको १८औँ वार्षिक साधारणसभाले उक्त नाफाबाट आफ्ना शेयरधनीहरूलाई प्रतिशेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।

साधारणसभामा प्रस्तुत वित्तीय विवरणअनुसार आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बीच कम्पनीले कुल ३८ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरी ६ अर्ब रुपैयाँ खुद नाफा कमाएको हो । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कवापत आफ्नो कूल आयमध्ये १८ अर्ब ४६ करोड रुपैयाँ राजस्वको रूपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुऱ्याएको प्रतिवेदनमा उल्लेख छ ।

टेलिकमकी अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले जोखिम न्यूनीकरणको लागि आय सुनिश्चितताको परीक्षण, कार्यसम्पादन परीक्षण तथा प्राविधिक परीक्षणको कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइएको बताउँदै संस्थागत सामाजिक उत्तरदायित्त्व निर्वाह गर्ने क्रममा वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा खेलकुद लगायतका क्षेत्रहरूमा सदाझैँ सहयोग उपलब्ध गराउँदै आएको बताइन् ।

काठमाडौँ लगायतका प्रमुख सहरहरूमा छिट्टै फाइभजी सेवा सञ्चालन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिइन् । फाइभजीले डिजिटल डिभाइड कम गर्न र डिजिटल नेपालको सपना साकार पार्न सहयोग पुग्ने उनको विश्वास छ ।

टेलिकमले हाल फोरजी/एलटीई र एफटीटीएच सेवा विस्तार गरिरहेको छ । हाल देशभर टुजी, थ्रीजी र फोरजीका गरी करिब १२ हजार बीटीएस टावरहरू सञ्चालनमा रहेको र मध्यपहाडी लोकमार्ग र जिल्ला सदरमुकाम जोड्ने गरी आठ हजार ८३४ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार भइसकेको जानकारी दिइयो ।

अन्तर्राष्ट्रिय बजारमा भ्वाइस सेवाको माग र राजस्वमा आएको गिरावट तथा ओटीटी सेवाको बढ्दो प्रभावलाई कम्पनीले प्रमुख चुनौतीका रूपमा लिएको छ । यसलाई सम्बोधन गर्न डेटा सेवाको गुणस्तर सुधार गर्ने र लागत प्रभावी प्याकेजहरूमार्फत बजार हिस्सा बढाउने रणनीति कम्पनीले लिएको छ ।

साधारणसभाले पारित गरेको लाभांश रकम आजदेखि नै एनएमबी बैंकमार्फत शेयरधनीहरूको खातामा पठाउन सुरु गरिएको प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए ।