पश्चिम र तराईमा हुस्सु, कुहिरो र चिसो: जनजीवन प्रभावित

पश्चिम र तराईमा हुस्सु, कुहिरो र चिसो: जनजीवन प्रभावित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तराईका अधिकांश स्थान तथा उपत्यकामा हुस्सु/कुहिरो लाग्ने जनाएको छ। महाशाखाका अनुसार दिउँसो पनि तराईका केही क्षेत्रमा हुस्सु/कुहिरो रहनेछ भने सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। कोसी र गण्डकी प्रदेशका केही पहाडी भूभागमा हल्का वर्षा पनि हुने देखिएको छ।

राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। तराईका केही स्थानमा हुस्सु रहने बताइएको छ।

विगतका दिनमा बाँकेलगायत पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएको छ। स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने बिहान पसल र बजार ढिला खुलेका छन्। साँझपख चिसो बढेसँगै बजारहरू सुनसान देखिएका छन्।

नेपालगन्ज–१६ का चालक रामप्रसाद थारूका अनुसार हुस्सु र कुहिरोका कारण सवारीसाधन चलाउन कठिनाइ भइरहेको छ। चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित भइरहेका छन्।

भेरी अस्पतालका सूचना अधिकारी संकेत रिसालले बताएअनुसार, चिसो बढेसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरो लगायतका रोगका बिरामीको संख्या पनि बढेको छ। अस्पतालमा हिजोआज दैनिक १०० भन्दा बढी निमोनिया र रुघाखोकीका बिरामी उपचारका लागि आउन थालेका छन्।