

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गरेको रा१ज ४२२ नम्बरको जिप सडकबाट करिब ७०० मिटर तल खस्दा सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार मृत्यु हुनेहरूमा आठविसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठविसकोट–१ की १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विक रहेका छन् ।
दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइते हुनेमा आठविसकोट–२ की १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया सङ्गीता बुढा, १९ वर्षीया शान्ति बुढा, १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र जिप चालक ३४ वर्षीय टोपजङ्ग बुढा छन् ।
नौ जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने १८ वर्षीया जुना बुढालाई गम्भीर चोट लागेकाले थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
प्राथमिक अनुसन्धान अनुसार जिप ओभरलोड र साँघुरो सडकका कारण दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।