तरबूजाका बीउ: फाल्ने होइन, सेवन गरे मिल्छ स्वास्थ्यलाई यस्ताे फाइदा

तरबूजाका बीउ: फाल्ने होइन, सेवन गरे मिल्छ स्वास्थ्यलाई यस्ताे फाइदा

काठमाडौं । गर्मी मौसममा धेरैले मन पराउने फल हो – तरबूजा। चिसो रसले भरिएको यो फलले शरीरमा पानीको कमी पूर्ति गर्छ। तर, धेरैजसोले यसभित्रका साना कालो बीउहरू बेकार ठानेर फाल्ने गर्छन्। तर यिनै बीउमा स्वास्थ्यका अद्भुत गुण लुकेका हुन्छन्।

गहिरो अध्ययनहरू अनुसार तरबूजाका बीउहरू शरीरलाई पोषण दिने मात्र होइन, थुप्रै रोगहरूबाट बचाउने क्षमता पनि राख्छन्। यी बीउहरूलाई सुकेर, पिसेर वा उमालेर विभिन्न तरिकाले सेवन गर्न सकिन्छ।

१. पाचन प्रणाली सुधार
तरबूजाको बीउमा प्रशस्त फाइबर हुन्छ। यसले कब्जियत हटाउँछ र पेट सफा राख्न मद्दत गर्छ। बीउको पाउडर बनाएर बिहान खाली पेट मनतातो पानीसँग सेवन गर्दा राम्रो असर देखिन्छ।

२. मधुमेह नियन्त्रण
यी बीउमा पाइने म्याग्नेसियम र अन्य तत्त्वले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ। दिनमा एकपटक यी बीउ उमालेर बनाइएको चिया सेवन गर्दा इन्सुलिन सन्तुलनमा सहयोग मिल्छ।

३. मुटु स्वास्थ्य
तरबूजाका बीउमा ओमेगा–६ फ्याटी एसिड र म्याग्नेसियमजस्ता स्वस्थ बोसोतत्त्व छन्। यसले कोलेस्ट्रोल घटाउन र मुटुलाई बलियो बनाउने काम गर्छ।

४. छाला र कपालको हेरचाह
प्रोटिन, आइरन र जिंकले भरिएको बीउले छालामा चमक ल्याउने र कपाललाई मजबुत बनाउने काम गर्छ। यसको तेल पनि अनुहार र कपालमा प्रयोग गर्न सकिन्छ।

५. रोग प्रतिरोधात्मक क्षमता बढाउने
बीउमा पाइने आइरन, फस्फोरस र म्याग्नेसियमले शरीरको इम्युनिटी सिस्टमलाई मजबुत बनाउँछ। भुटेर वा पाउडर बनाएर सेवन गर्दा संक्रमणबाट पनि जोगिन सकिन्छ।

६. विभिन्न परिकारमा सजिलै प्रयोग
यी बीउहरू स्मूदी, सलाद वा दूध/पानीमा मिसाएर पनि उपयोग गर्न सकिन्छ। स्वाद र स्वास्थ्य दुबैको सन्तुलन बनाउन यो उत्तम उपाय हो।

त्यसैले, अर्को पटक तरबूजा खाँदा बीउ फाल्नु अघि एकपटक सोच्नुहोस्—स्वास्थ्यको खजाना तपाईको थालीबाट बाहिर नजाओस्।