

काठमाडौं । मानव सभ्यताको सुरुवातदेखि नै अमरताको कल्पना गरिएको छ। वैदिक कालदेखि पौराणिक ग्रन्थहरूमा ऋषिमुनिहरूले अमर बन्न कठोर तपस्या गरेका कथाहरू पाइन्छन्। अमरता देवताको वरदान मानिन्थ्यो। तर आज, विज्ञानले यस कल्पनालाई वास्तविकतामा रूपान्तरण गर्ने दिशामा उल्लेखनीय प्रगति गरिरहेको छ।
यही सन्दर्भमा, प्रख्यात भविष्यविद् डा. इयान पियर्सनले मानव भविष्यको यस्तो चित्र प्रस्तुत गरेका छन्, जुन रोमाञ्चक मात्र होइन, क्रान्तिकारी पनि छ। उनले विश्वास व्यक्त गरेका छन् कि सन् २०५० सम्म प्रविधिले यति फड्को मार्नेछ कि मानिसले आफ्नो सम्पूर्ण स्मृति, सोच्ने क्षमता र चेतनालाई कम्प्युटर वा रोबोटिक शरीरमा अपलोड गर्न सक्नेछ।
यो प्रविधिलाई ‘माइन्ड अपलोडिङ’ भनिन्छ। यस प्रक्रियामार्फत मानिसको शारीरिक शरीर मरे पनि उसका विचार, सम्झना र चेतना डिजिटल रूपमा जीवित रहन सक्नेछ। प्रारम्भमा यो सुविधा धनी वर्गका लागि मात्र उपलब्ध हुने भए पनि सन् २०६० सम्ममा मध्यम वर्गले पनि यसबाट फाइदा लिन सक्ने डा. पियर्सनको भनाइ छ।
बायोटेक्नोलोजी र जेनेटिक इन्जिनियरिङको सहायताले बुढ्यौली प्रक्रियालाई ढिला गराउने सम्भावना पनि उनले देखाएका छन्। मस्तिष्क–कम्प्युटर इन्टरफेस (बीसीआई) जस्ता यन्त्रहरूले सोच, स्मृति र आत्मचेतनालाई डिजिटल रूपमा संरक्षित गर्न सक्ने क्षमता राख्छन्। यसले शरीर विनाका मानिसलाई पनि प्राविधिक रूपमा ‘अमर’ बनाउने विश्वास गरिएको छ।
डा. पियर्सनको भनाइसँग मेल खाने ख्यातिप्राप्त भविष्यवक्ता रे कुर्जवेलको भविष्यवाणी पनि उल्लेखनीय छ। गुगलका पूर्व इन्जिनियर कुर्जवेलका अनुसार सन् २०२९ सम्ममा कृत्रिम बौद्धिकता (एआई) ले मानव मस्तिष्कको क्षमताको बराबरी गर्नेछ। र, सन् २०३० सम्ममा मानव मस्तिष्क क्लाउडसँग जडान हुन सक्नेछ।
उनको दाबी छ कि सन् २०४५ सम्ममा मानव साइबोर्ग (आधा मानिस–आधा मेसिन) बन्नेछ। कुर्जवेलका अघिल्ला कैयौं भविष्यवाणीजस्तै—चेसमा कम्प्युटरको विजयदेखि स्मार्टफोनको युगसम्म—सत्य सावित भइसकेका छन्।
यो सबैले संकेत गर्छ कि विज्ञानको तीव्र प्रगति सँगै भविष्यमा मानव जीवन र मृत्युको परिभाषा नै परिवर्तन हुन सक्छ। अब प्रश्न उठ्छ—मानव अमर हुने छ, तर के त्यो मानव हुनेछ?