भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको स्पष्टीकरण : यो सार्वजनिक जिम्मेवारीअघिको निजी क्षण हो

भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको स्पष्टीकरण : यो सार्वजनिक जिम्मेवारीअघिको निजी क्षण हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो भिडियोबारे स्पष्टीकरण दिएकी छन्।

गुडिरहेको सवारीसाधनको झ्यालबाट बाहिर निस्किएर रमाइलो गरिरहेको दृश्य सार्वजनिक भएपछि उनले शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।भट्टराईले उक्त भिडियो हालको नभई आफू सार्वजनिक जिम्मेवारी तथा सरकारी नियुक्तिमा आउनुअघिको निजी समयको भएको स्पष्ट पारेकी छन्। “यो भिडियो मेरो हालको सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिपूर्वको निजी समयसँग सम्बन्धित हो,” उनले उल्लेख गरेकी छन्।

उनका अनुसार भिडियो खिचिएको समयमा आफू सवारीचालक नभई यात्रुका रूपमा थिइन् र त्यो एक सामान्य निजी क्षणलाई रमाइलोका रूपमा कैद गरिएको दृश्य थियो। सार्वजनिक पदमा रहेका व्यक्तिको पनि निजी जीवन हुने उल्लेख गर्दै उनले नागरिकको चासोलाई सम्मान गरे पनि व्यक्तिगत स्वतन्त्रताको अधिकार कायम रहने बताएकी छन्।

“सार्वजनिक पदमा रहँदैमा व्यक्तिले आफ्नो निजी जीवनका सामान्य क्षणहरू जिउने अधिकार गुमाउँदैन। म सार्वजनिक पदमा रहे पनि सबैभन्दा पहिले एक नागरिक हुँ र मेरो पनि व्यक्तिगत स्वतन्त्रताको अधिकार छ,” उनले लेखेकी छन्।

भिडियोमा देखिएको गतिविधि ट्राफिक नियम र सडक सुरक्षाका दृष्टिले उपयुक्त नहुन सक्ने कुरा स्वीकार गर्दै उनले उमेर र उत्साहका कारण विगतमा त्यस्तो व्यवहार भएको हुन सक्ने बताएकी छन्।

उनले यस्ता घटनालाई आलोचनाभन्दा पनि सचेतनाको अवसरका रूपमा लिन आग्रह गर्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

“विगतका यस्ता अनुभवबाट सिक्दै भविष्यमा म स्वयंले पनि यस्ता गतिविधि दोहोर्‍याउने छैन,” उनले भनेकी छन्।

सांसद भट्टराईले छोटो र पुरानो भिडियोका आधारमा कसैको चरित्र, जिम्मेवारीबोध वा कार्यक्षमताको मूल्याङ्कन नगर्न आग्रह गर्दै व्यक्तिको समग्र योगदान र व्यवहारलाई आधार बनाएर मूल्याङ्कन गर्नुपर्ने धारणा राखेकी छन्।

आफू जनप्रतिनिधिको जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध रहेको र जनताको विश्वासको सम्मान गर्दै इमान्दारीपूर्वक काम गरिरहने उनले बताएकी छन्। साथै, आफूलाई साथ र समर्थन गर्ने शुभेच्छुकहरूलाई धन्यवाद पनि व्यक्त गरेकी छन्।