नयाँ सवारी दर्ता रोक्दा यातायात व्यवसायी मारमा परे : रास्वपा सांसद कार्की

नयाँ सवारी दर्ता रोक्दा यातायात व्यवसायी मारमा परे : रास्वपा सांसद कार्की

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद धनेन्द्र कार्कीले नयाँ सवारीसाधन दर्ता रोक्ने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै यसले यातायात व्यवसायीलाई समस्यामा पारेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले दसैँ नजिकिँदै गर्दा व्यवसायीहरू नयाँ सवारी सञ्चालनको तयारीमा रहेका बेला दर्ता प्रक्रिया रोकिएको बताए।

“यातायात व्यवसायीहरूको मुख्य व्यापारिक सिजन दसैँ हो। यही बेला चेसिस ल्याएर बडी निर्माण गर्ने काम भइरहेको हुन्छ, तर सरकारले नयाँ दर्ता रोकेको छ,” कार्कीले भने, “यसले व्यवसायीलाई कसरी सहज हुन्छ ?”

उनले पुराना र जीर्ण सवारीसाधन विस्थापन गर्नुपर्ने समयमा नयाँ सवारी दर्ता बन्द गर्नु उचित नभएको बताउँदै तत्काल दर्ता प्रक्रिया खुला गर्न सरकारसँग माग गरे।

“पुराना गाडी हटाएर नयाँ ल्याउनुपर्ने बेला नयाँ दर्ता रोकिएको छ। पुरानै गाडी चलाउन बाध्य बनाउने र पछि दुर्घटना हुँदा चिन्ता व्यक्त गर्ने प्रवृत्ति उचित होइन,” उनले भने।

सांसद कार्कीले संघीय सरकारमा छुट्टै यातायात मन्त्रालय नरहँदा नीति निर्माण र कार्यान्वयनमा अन्योल सिर्जना भएको टिप्पणी गरे। यातायात क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि स्पष्ट संरचना आवश्यक रहेको उनको भनाइ थियो।

ग्रामीण क्षेत्रमा सञ्चालन हुने ‘डबल क्याप’ सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको उनले बताए। पर्याप्त सडक पूर्वाधार र ठूला सार्वजनिक सवारीको पहुँच नहुँदा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उनको भनाइ थियो।

“पुराना सवारीसाधनले दुर्घटनाको जोखिम बढाउँछन्। कतिबेला ब्रेक फेल हुन्छ, गियर बिग्रिन्छ वा अन्य समस्या आउँछ भन्ने निश्चित हुँदैन,” उनले भने।

कार्कीले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने प्रक्रिया पनि अव्यावहारिक रहेको टिप्पणी गरे। उनले परीक्षामा व्यावहारिक सीपभन्दा असम्बन्धित प्रश्न सोधिने गरेको उल्लेख गर्दै प्रणाली सुधार गर्न आग्रह गरे।