वर्षायाममा तीन महिना सडक खन्न प्रतिबन्ध, अनुमति बिना खने कारबाही हुने

वर्षायाममा तीन महिना सडक खन्न प्रतिबन्ध, अनुमति बिना खने कारबाही हुने

काठमाडौं । बर्खायामका तीन महिनासम्म देशभरका सडक खन्न नपाइने भएको छ। सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गर्दै वर्षायाममा सडक खन्ने अनुमति नदिने जनाएको हो।

सूचनाअनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न पूर्ण प्रतिबन्ध रहनेछ। उक्त अवधिमा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी पूर्वअवस्थामा ल्याउन नसकिने भएकाले सडक थप बिग्रने जोखिम रहने उल्लेख गरिएको छ।

कार्यालयले यस अवधिमा मातहतका कुनै पनि सडक डिभिजनहरूबाट सडक खन्न स्वीकृति नदिइने स्पष्ट पारेको छ। अनुमतिविना सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

सूचनामा भनिएको छ, “अनुमतिविना सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिनेछ।”