गाजर खानुका १० चमत्कारी फाइदा: आँखा देखि मस्तिष्कसम्म लाभदायक

गाजर खानुका १० चमत्कारी फाइदा: आँखा देखि मस्तिष्कसम्म लाभदायक

काठमाडौं : स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिने गाजरलाई पोषणको खानीका रूपमा लिइन्छ। भिटामिन, फाइबर र मिनरल्सले भरिपूर्ण गाजरले शरीरका विभिन्न अंगहरूलाई फाइदा पुर्‍याउँछ। यही सन्देश फैलाउने उद्देश्यले हरेक वर्ष अप्रिल ४ मा अन्तर्राष्ट्रिय गाजर दिवस मनाइन्छ। सन् २००३ देखि सुरु भएको यो दिवस सन् २०१२ पछि अन्तर्राष्ट्रिय रूपमा फ्रान्स, इटाली, स्वीडेन, अस्ट्रेलिया, बेलायत, अमेरिका र जापानलगायत देशहरूले मनाउन थालेका छन्।

गाजर नियमित रुपमा खानाले शरीरमा पर्ने १० सकारात्मक प्रभाव यस्ता छन्:

आँखा स्वास्थ्यमा सुधार
गाजरमा प्रशस्त मात्रामा पाइने भिटामिन ए, बिटा क्यारोटिन, ल्युटिन र जेक्सान्थिनले आँखाको ज्योति कायम राख्न मद्दत गर्छ। नियमित सेवनले राता अन्धोपनजस्ता समस्या टार्न सकिन्छ।

पाचन प्रणालीलाई सहयोग
गाजरमा पाइने उच्च फाइबरले आन्द्राको चाल सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ।

छालाको सौन्दर्यमा वृद्धि
गाजरले छालालाई हाइड्रेट राख्ने, कोलाजेन उत्पादनमा सहायता गर्ने र छालालाई स्वस्थ र चम्किलो बनाउने काम गर्छ।

तौल नियन्त्रणमा सहायक
गाजरले लामो समयसम्म पेट भरिएको महसुस गराउने भएकाले तौल नियन्त्रणमा पनि सहयोग पुग्छ।

मुख स्वच्छता र स्वास्थ्यमा सुधार
गाजर चपाउँदा रयाल बढ्छ, जसले मुखभित्रका ब्याक्टेरियालाई हटाउन मद्दत गर्छ। यसले दाँत र गिजासम्बन्धी समस्या घटाउँछ।

मुटुको स्वास्थ्यमा लाभ
गाजरमा रहेको पोटासियमले रक्तचाप नियन्त्रणमा राख्छ र एन्टिअक्सिडेन्टले मुटु स्वस्थ राख्न सहयोग गर्छ।

शरीर डिटक्स गर्न प्रभावकारी
गाजर खानाले शरीरबाट टक्सिन अर्थात् विषालु तत्वहरू बाहिर निकाल्न मद्दत गर्छ।

मस्तिष्कको कार्यक्षमता सुधार
गाजरमा पाइने भिटामिन के ले मस्तिष्कको कार्यमा सकारात्मक प्रभाव पार्छ, जसले स्मरणशक्ति र एकाग्रता बढाउँछ।

अक्सिडेटिभ तनाव घटाउने
बिटा क्यारोटिन र अन्य एन्टिअक्सिडेन्टले शरीरमा हुने अक्सिडेटिभ तनाव घटाउँछन्, जसले विभिन्न रोगहरूको जोखिम कम गर्छ।

समग्र स्वास्थ्यका लागि पोषक तत्वको स्रोत
गाजर भिटामिन ई, फाइबर, पोटासियम, एन्टिअक्सिडेन्ट लगायतका पोषक तत्त्वले भरिपूर्ण छ, जसले समग्र स्वास्थ्यमा सुधार ल्याउँछ।

नियमित रूपमा गाजरको सेवन गरेर तपाईँले प्राकृतिक रूपमा शरीरलाई स्वस्थ राख्न सक्नुहुन्छ। विशेषतः आँखा, छाला, मुटु र मस्तिष्कका लागि गाजर एक वरदान साबित हुन सक्छ।