

काठमाडौं । एक असाधारण मुसाले संसारलाई चकित पार्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएको छ। अफ्रिकी मुसा ‘रोनिन’ ले कम्बोडियामा १०९ वटा बारुदी सुरंग (ल्यान्डमाइन) र १५ वटा तोप पत्ता लगाउँदै इतिहास रचेको हो।
रोनिनले यसअघि कीर्तिमान राखेका ‘मागावा’ नामक मुसाको रेकर्ड तोड्दै सबैभन्दा सफल माइन डिटेक्सन र्याट (एमडीआर) को उपाधि पाएको छ। मागावाले ७१ वटा ल्यान्डमाइन पत्ता लगाएर सन् २०२० मा स्वर्ण पदक पाएका थिए।
रोनिन अफ्रिकाको विशेष प्रजातिको मुसा हो, जुन अत्यन्त तीव्र सुँघ्न सक्ने क्षमताका कारण चर्चित छ। उसलाई बेल्जियमको परोपकारी संस्था ‘अपोपो’ ले तालिम दिएको थियो। रोनिन पाँच वर्षको छ र उसले ग्रिड प्रणालीअन्तर्गत प्रशिक्षण लिएको थियो।
यी मुसाहरूलाई ‘हीरो र्याट्स’ भनिन्छ। उनीहरूलाई बारुदी सुरंग र अन्य विस्फोटक पदार्थमा प्रयोग हुने रसायन पत्ता लगाउन तालिम दिइन्छ। जहाँ मेटल डिटेक्टरले ४ घण्टा लाग्ने काम, त्यही काम यी मुसाहरूले आधा घण्टामै सक्ने क्षमता राख्छन्।
रोनिनले सन् २०२१ मा सक्रिय सेवा अन्त्य गर्यो। यद्यपि उसले ल्यान्डमाइन पत्ता लगाउने इतिहासकै उत्कृष्ट कार्यसम्पादन गरेको मानिन्छ। उसका योगदानका कारण उसलाई सामाजिक सञ्जालमा ‘सुपरहिरो’ भनेर सम्मान गरिन्छ।
बीबीसीका अनुसार रोनिनको स्वभाव अत्यन्त शान्त, अनुशासित र मेहनती रहेको छ। सेवानिवृत्त मुसाहरूको जीवनयापन र हेरचाहको जिम्मा अपोपो संस्थाले लिन्छ।
कम्बोडिया अझै पनि विश्वकै सबैभन्दा बढी खानी भएको देशहरूमध्ये एक हो। सन् १९६० को दशकमा सुरु भएको युद्ध र ३० वर्ष लामो गृहयुद्धपछि पनि देशभर करिब ६० लाख विस्फोट नगरिएका ल्यान्डमाइन रहेका छन्। सन् १९७९ यता मात्रै २० हजारको मृत्यु र ४५ हजारभन्दा बढी नागरिक घाइते भएका छन्।
रोनिनजस्ता ‘हीरो मुसा’हरूले यस्ता खतरनाक क्षेत्रको पहिचान गरी थुप्रै नागरिकको ज्यान जोगाउँदै आएका छन्।