

पोखरा, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अब निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि निर्माण प्रक्रिया अघि बढ्ने बताएका हुन् ।पोखरा विमानस्थलले देशको अर्थतन्त्रलाई सहयोग गर्ने आशा व्यक्त गरेका उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सरकारले अघि बढाउने बताए ।
गत १२ जेठमा सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश जारी गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन र आवश्यकताअनुसार निजगढको विकल्पमा खोज्न परमादेश दिएको थियो ।
तर, प्रधानमन्त्री प्रचण्डले निजगढ विमानस्थल बनाउने बताएका हुन् ।