

काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्देशकीय कमब्याक फिल्म ‘आचार्य’को एक्सनप्रधान टिजर सार्वजनिक गरिएको छ। मंगलबार दिउँसो ३ः०६ बजे सार्वजनिक गरिएको करिब दुई मिनेट लामो टिजरमा निखिललाई अन्यायविरुद्ध लड्ने ‘आचार्य’ पात्रका रूपमा प्रस्तुत गरिएको छ। टिजरको सुरुवात सञ्चारकर्मी संजोग बस्यालको भ्वाइस ओभरबाट हुन्छ, जसमा सत्यको आवाज दबाइएपछि एउटा योद्धा जन्मिने प्रसंग समेटिएको छ।
टिजरमा निखिलको दमदार एक्सन अवतार देख्न सकिन्छ। प्याराग्लाइडिङदेखि बाइक स्टन्टसम्मका दृश्य समावेश गरिएको छ भने उनले संस्कृतमा ‘आचार्य’ गरेका पात्रको भूमिका निर्वाह गरेको संकेत टिजरले दिएको छ।
फिल्ममा निखिलसँगै पूर्णिका सिंजापति, प्रमोद अग्रहरी, सञ्जय गुप्ता तथा भारतीय कलाकार दीपराज राणा र रघु बाबुको अभिनय रहेको छ। केही दृश्यमा भारतीय कलाकार र महाराष्ट्र नम्बर प्लेटको सवारी देखिएकाले फिल्मको कथा नेपाल–भारतसँग जोडिएको हुन सक्ने अनुमान गरिएको छ।
निखिल उप्रेती प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका निर्माता कृष्ण भट्टराई हुन्। फिल्मको लेखन निखिल स्वयंले गरेका छन्। मनु विश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामाको छायांकन रहेको फिल्ममा बन्दे प्रसादको सम्पादन, शुक्रराज शाहको द्वन्द्व निर्देशन, युग भुसालको संगीत तथा गम्भीर विष्ट र किरण थापाको नृत्य निर्देशन रहेको छ।
फिल्म ‘आचार्य’ आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।