

काठमाडौं । यस वर्ष मनसुन सुरु भएयता ६० दिनको अवधिमा देशभर सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। असार ५ गतेदेखि भदौ १ गतेसम्म देशभर कुल ७४६.८ मिलिमिटर वर्षा भएकोमा सामान्य अवस्थामा सोही अवधिमा ८३०.६ मिलिमिटर वर्षा हुने गरेको विभागले जनाएको छ। यस वर्ष उक्त अवधिमा सरदरको ८९.९ प्रतिशत मात्र वर्षा भएको हो।
विभागका अनुसार यस अवधिमा सरदरभन्दा ८३.८ मिलिमिटर कम वर्षा भएको छ। यद्यपि, वर्षाको समग्र मात्रा मात्र नभई यसको भौगोलिक वितरण र स्थानगत अवस्थालाई समेत विश्लेषण गर्नुपर्ने हावापानी विश्लेषण शाखाले जनाएको छ।यस वर्षको मनसुन अवधिमा कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका अधिकांश क्षेत्र, मधेसका पूर्वी भूभाग तथा कोशीका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना बढी रहेको विभागको प्रक्षेपण छ।
विभागले यस वर्ष अधिकांश प्रदेशमा अधिकतम तथा न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी रहने सम्भावना रहेको जनाएको छ। नेपालको वार्षिक कुल वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुन अवधिमै हुने भएकाले मनसुनको वर्षा कृषि, जलस्रोत र जनजीवनका लागि विशेष महत्त्वपूर्ण मानिन्छ।