सर्वोच्चका ११ वर्षदेखिको फैसला पठाउन बारको अध्ययन समितिको आह्वान

सर्वोच्चका ११ वर्षदेखिको फैसला पठाउन बारको अध्ययन समितिको आह्वान

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले गठन गरेको फैसला अध्ययन समितिले पछिल्लो ११ वर्षका महत्वपूर्ण फैसला उपलब्ध गराउन कानुन व्यवसायीलाई आह्वान गरेको छ।

सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतबाट भएका फैसलाको अध्ययन गर्न वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले १ वैशाख २०७२ देखि चैत मसान्त २०८२ सम्म सर्वोच्च अदालतबाट भएका प्रकाशित तथा अप्रकाशित महत्वपूर्ण फैसला उपलब्ध गराउन कानुन व्यवसायीलाई आग्रह गरेको हो। समितिले प्राप्त फैसलाको अध्ययन गरी प्रतिवेदन तयार पारेर सर्वोच्च अदालत बार एसोसिएसनलाई बुझाउनेछ।

वरिष्ठ अधिवक्ता घिमिरे संयोजक रहेको समितिको सहसंयोजकमा वरिष्ठ अधिवक्ता लभकुमार मैनाली छन्। सदस्यहरूमा प्रकाशबहादुर केसी, शरदप्रसाद कोइराला, माधवकुमार बस्नेत र कमलप्रसाद इटनी तथा सदस्यसचिवमा निर्मलप्रसाद उपाध्याय छन्।

सर्वोच्च अदालतका फैसलालाई लिएर समय–समयमा प्रश्न तथा आलोचना हुने गरेको सन्दर्भमा बारले फैसला अध्ययन समिति गठन गरेको हो। यसअघि पनि फैसला अध्ययन गर्ने समिति गठन गर्ने घोषणा भए पनि त्यसले अपेक्षित रूपमा काम अघि बढाउन नसकेको बताइन्छ।