

काठमाडौं । नेकपा एमालेको चुनावी पराजयको प्रमुख कारणमध्ये पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नु रहेको पार्टी कार्यदलको प्रतिवेदनले औँल्याएको छ। प्रतिवेदनका अनुसार भदौ २३ र २४ गतेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीलाई पुनः प्रधानमन्त्रीको उम्मेदवार बनाइँदा निर्वाचन उनको नेतृत्व र विगतको सरकारको कार्यसम्पादनको मूल्याङ्कन गर्ने चुनावमा परिणत भएको थियो।
आन्दोलनका क्रममा सरकारमाथि उठेका प्रश्न र जनतामा देखिएको असन्तुष्टिलाई प्रभावकारी रूपमा सम्बोधन गर्न नसकेको अवस्थामा ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नु पार्टीका लागि प्रतिकूल बनेको कार्यदलको निष्कर्ष छ।
प्रतिवेदनमा चुनावी बहस पार्टीका नीति, कार्यक्रम र भावी योजनाभन्दा बढी ‘भदौ २३-२४ को घटना’ र ‘प्रधानमन्त्री को बन्ने?’ भन्ने विषयमा केन्द्रित हुन पुगेको उल्लेख छ। यसले एमालेको चुनावी परिणाममा प्रत्यक्ष प्रभाव पारेको कार्यदलको विश्लेषण छ।
कार्यदलले पार्टीको पराजयलाई केवल बाह्य परिस्थितिको परिणामका रूपमा मात्र नहेरी नेतृत्व, सरकारको कार्यशैली, संगठनको अवस्था र जनतासँगको सम्बन्धमा देखिएका कमजोरीको परिणामका रूपमा समेत विश्लेषण गरेको छ।
प्रतिवेदनले विगतको चुनावी पराजयपछि तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको नजिर पनि स्मरण गराएको छ। पछिल्लो निर्वाचनमा भएको पराजयपछि पार्टी नेतृत्वले समेत नैतिक जिम्मेवारी लिनुपर्ने विषयलाई प्रतिवेदनले बहसका रूपमा अघि सारेको छ।