भारतमा कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी, राहुलको राजीनामा स्वीकृत

भारतमा कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी, राहुलको राजीनामा स्वीकृत

नयाँ दिल्ली, २६ साउन । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आइको अन्तरिम अध्यक्षमा सोनिया गान्धी चुनिएकी छन् । शनिबार रातिसम्म बसेको कांग्रेस कार्यसमितिको बैठकले गान्धीलाई सो पदमा चयन गरेको हो । कांग्रेस नेता गुलाम नबी आजाद र हरिश राबतले बैठक सकिएपछि जनाएअनुसार बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउनुका साथै राहुल गान्धीले दिएको राजीनामा पनि स्वीकृत गरेको थियो ।

बैठकपछि कंग्रेसका महासचिव वेणुगोपाल र पार्टी प्रवक्ता रणदीप सुरजेवालाले जनाए अनुसार बैठकले तीन वटा प्रस्ताव पारित गरेको छ । पहिलोमा राहुल गान्धीलाई यसअघि नेतृत्व लिएकोमा धन्यवाद दिएको छ ।लोकसभा निर्वाचनमा पार्टीको हारपछि राहुलले राजीनामा दिएका थिए ।

दोस्रो प्रस्तावमा पूर्णकालीन अध्यक्ष नबनेसम्म सोनिया गान्धीलाई पार्टीको अन्तरिम अध्यक्ष बनाउने । र, तेस्रो प्रस्तावमा जम्मु काश्मीरको मुद्धामा कार्यसमितिमा छलफल गरी त्यहाँको अवस्थाबारेमा जानकारी लिन विपक्षी पार्टीको एउटा समूहलाई त्यहाँ पठाउन सरकारलाई आग्रह गर्ने प्रस्ताव समेत पारित गरेको छ ।बैठकपछि राहुलले कार्यसमिति बैठक मुख्य रुपमा काश्मीर विषयमा केन्द्रीत भएको जनाउँदै काश्मीरमा हिंसा फैलिएको कुरा आएको र वास्तविकता के हो प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई जानकारी गराउनुपर्ने बताए । (बीबीसी)