जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु पुष्टि, अनिश्चितकालका लागि बन्द

जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु पुष्टि, अनिश्चितकालका लागि बन्द

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सञ्चालित सदर चिडियाखानाले शुक्रबार सूचना जारी गर्दै संक्रमणको जोखिम नियन्त्रण गर्न तथा आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्न आजैदेखि लागू हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधि स्थगित गरिएको जनाएको छ।

चिडियाखानाका अनुसार बर्डफ्लु संक्रमण थप फैलिन नदिन आवश्यक सतर्कता अपनाइएको छ भने अर्को सूचना जारी नभएसम्म सर्वसाधारणका लागि प्रवेश बन्द रहनेछ।

गत चैत महिनामा कोशी प्रदेशबाट सुरु भएको बर्डफ्लु संक्रमण हालसम्म देशका १० जिल्लामा फैलिसकेको छ। संक्रमण नियन्त्रणका लागि सम्बन्धित निकायहरूले निगरानी तथा रोकथामका उपायहरू तीव्र बनाएका छन्।