

एजेन्सी । उत्तर कोरियाले फेरि दुईओटा छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । कोरियाले ८ दिनभित्र तेस्रो पटक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । उत्तर कोरियाले आज विहान देशको पूर्वी तटिय क्षेत्रमा दुईओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरुले जनाएका छन् ।
अमेरिका र दक्षिण कोरिया विच यसै महिना संयुक्त सैन्य अभ्यास गर्ने योजना प्रतिको प्रतिक्रियाका रूपमा उत्तर कोरियाले परीक्षण गरेको हुनसक्ने बताइएको छ । दक्षिण कोरियाली सेनाका ‘जोइन्ट चिफ अफ स्टाफ’ले स्थानीय समय अनुसार आज विहान २ बजेर ५९ मिनेट र ३ बजेर २३ मिनेटमा उत्तर कोरियाले ती क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । ती क्षेप्यास्त्र ‘सी अफ जापान’मा खसेको बताइएको छ । यसअघि, बुधबार पनि उत्तर कोरियाले दुईओटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।