सातवटै प्रदेश सरकारले आज बजेट ल्याउदैं

सातवटै प्रदेश सरकारले आज बजेट ल्याउदैं

काठमाडौं, १ असार । सातवटै प्रदेश सरकारले आज बजेट ल्याउदै छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै राजस्व र व्ययको अनुमान बजेट ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेकाले आज नै बजेट ल्याउन लागेका हुन ।

प्रदेश अर्थमन्त्रीहरूले प्रदेशसभामा आफ्नो बजेट पेस गर्नुहुनेछ । यसपटक सबै सरकारले बजेटको आकार बढाउने तयारी गरेका छन् । कृषि, पर्यटन, उद्यम, सडक विस्तारमा सबै सरकारको प्राथमिकता रहेको छ । सांसदहरुलाई सबै प्रदेशले करिब २ करोड बजेट दिने तयारी गरेका छन । प्रदेश १ ले समानुपातिक सांसदलाई पनि बजेट दिने तयारी गरेको छ ।

प्रदेश १ ले ३६ अर्बको बजेट ल्याउने तयारी गरेको छ । अघिल्लो बर्ष ३५ अर्ब ९३ करोडको बजेट सार्वजनिक गरिएको थियो । प्रदेश २ मा करिब ३२ देखि ३४ अर्ब रुपैयाँसम्मको बजेट ल्याउने तयारी गरेको छ । ठूला आयोजनासहित शिक्षा, स्वास्थ्यमा बजेटमा जोड दिइने बताइएको छ । पहिलो बजेट २९ अर्ब रुपैयाँको ल्याएको थियो । प्रदेश ३ ले ३५ अर्ब ६१ करोड रुपैयाँ बजेट तयारी गरेको छ । जलविद्युत, कृषि, उद्यममा बजेटले जोड दिने बताइएको छ ।

गण्डकी प्रदेशले ३० अर्ब रुपैयाँको हाराहारीमा ल्याउने गृहकार्यमा रहेको बुझिएको छ । पहिलो बजेट भन्दा करिब ६ अर्बले बढी हुनेछ । ३५ अर्ब हाराहारीको बजेट ल्याउने जनाएको छ । पहिलो बजेट २८ अर्बको थियो ।

प्रदेश नम्बर पाँचको सरकारले आइतबार ३५ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दैछ । दिउँसो ३ बजे प्रदेश सभा भवन बुटवलमा आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट सार्बजनिक गर्ने कार्यसूची रहेको छ । 

कर्णाली प्रदेशले १ करोड भन्दा तलका आयोजनामा बजेट नदिने भएको छ । करिब ३४ अर्बको बजेट ल्याउने कर्णाली प्रदेशको तयारी रहेको बुझिएको छ । कृषि, उद्यम, रोजगारमा बजेटले जोड दिने बताइएको छ । दीर्घकालीन सोचका आधारमा आवधिक योजना र मध्यमकालीन खर्च संरचनासँग तालमेल हुने गरी वार्षिक बजेट र विकास कार्यक्रम तर्जुमा गर्ने गरी बजेट आउने बताइएको छ ।

सुदूरपश्चिमले अरु प्रदेशभन्दा सानो बजेट ल्याउँदैछ । २९ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी छ ।