

काठमाडौं । आज देशका अधिकांश क्षेत्रमा बदली भई विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण रूपमा बादल लागेको छ भने अन्य स्थानमा पनि आंशिकदेखि सामान्य बदली रहेको छ।
हाल बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी क्षेत्रमा सामान्य बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा तथा कोसी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, केही स्थानमा भारी वर्षा तथा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
आज काठमाडौं उपत्यकामा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन्। हाल उपत्यकाको आकाश बादलले ढाकिएको छ।
आज राति देशभर सामान्य बदली रहनेछ। कोसी, मधेस र बागमती प्रदेशका साथै पहाडी तथा हिमाली भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।