दुवै मतपत्रमा ‘रुख’मा मतदान गर्न पूर्णबहादुर खड्काको आह्वान

दुवै मतपत्रमा ‘रुख’मा मतदान गर्न पूर्णबहादुर खड्काको आह्वान

काठमाडौं । पूर्णबहादुर खड्काले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीका पक्षमा मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा ‘रुख’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका हुन्।

उनले फागुन २१ गते प्रतिनिधिसभाका २७५ सिटका लागि निर्वाचन हुन लागेको उल्लेख गर्दै निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। “यो निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न होस् भन्ने हाम्रो माग तथा शुभकामना छ,” उनले उल्लेख गरेका छन्। आफू यसपटक उम्मेदवार किन नभएको भन्ने विषयमा गत माघ ६ गते नै सामाजिक सञ्जालमार्फत स्पष्ट पारिसकेको पनि उनले बताएका छन्।

नेता खड्काले फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेशसहित सातै प्रदेशका सबै मतदान केन्द्रमा पुगेर प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फका दुवै मतपत्रमा ‘रुख’मा स्वस्तिक छाप लगाई नेपाली कांग्रेसलाई विजयी गराउन मतदातासँग अनुरोध गरेका छन्।