सुर्खेतमा किशोरीको मृत्यु प्रकरण: सामूहिक बलात्कारपछि हत्या भएको आशंका, चार जना पक्राउ

सुर्खेतमा किशोरीको मृत्यु प्रकरण: सामूहिक बलात्कारपछि हत्या भएको आशंका, चार जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको मृत्यु प्रकरणमा बलात्कारपछि हत्या गरेको आशंकामा चार जना नाबालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत ले वीरेन्द्रनगरकै चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका सबै १८ वर्षमुनिका रहेका छन्।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको फागुन २३ गते मृत्यु भएको थियो। सोही दिन बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा उनी बेहोस अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

इनिसा कक्षा ११ मा अध्ययनरत थिइन्। उनको सामूहिक बलात्कारपछि हत्या भएको आशंकामा मृतकका आफन्तहरूले फागुन २४ गते प्रहरीमा जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार घटनाको अनुसन्धानका क्रममा फागुन २३ गते दिउँसो एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो भने थप अनुसन्धानका क्रममा अर्को तीन जनालाई पनि नियन्त्रणमा लिइएको हो।

परिवारका अनुसार इनिसा फागुन २३ गते बिहान ६ बजे ‘ट्युसन पढ्न जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनी सामान्यतया बिहान ८ बजेसम्म घर फर्किने गर्थिन्। तर ९ बजेसम्म नफर्किएपछि परिवारले खोजी थालेको थियो।

केही समयपछि एक अपरिचित नम्बरबाट ‘तपाईंकी छोरी शहीद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्’ भन्दै फोन आएको परिवारले जनाएको छ। घटनास्थलमा पुग्दा उनी गम्भीर अवस्थामा फेला परेकी थिइन्।

मृतकका आफन्तले घटनास्थलको अवस्था हेर्दा सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गरेका छन्। प्रहरीले भने पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको कारणबारे स्पष्ट हुने जनाएको छ।

प्रहरीका अनुसार घटनालाई गम्भीर रूपमा लिएर थप अनुसन्धान जारी रहेको छ।