

एजेन्सी । भारतीय राज्य गुजरातमा समुन्द्री चक्रवात आउने खतरा देखिएको छ । चक्रवात आउने मौसमविदको चेतावनीपछि तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
अरब सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा अघि बढेको छ । चक्रवात आज गुजरातको तटसँग ठोक्किने भारतीय सञ्चार माध्यमले लेखेका छन् । ‘वायु’ नाम दिइएको यो चक्रवातलाई भारतीय मौसम विभागले गम्भीर श्रेणीमा राखेको छ ।
सम्भावित नोक्सानीलाई रोक्न वायु सेना, थल सेना र तटरक्षक दललाई तयारी अवस्थामा राखिएको छ । रेल सेवालाई पनि बन्द गरिएको छ । पाँचवटा विमानस्थलको हवाई सेवालाई २४ घण्टाका लागि बन्द गरिएको छ । १० वटा जिल्लाका स्कुल पनि शनिबारसम्मका लागि बन्द गरिएको गुजरात सरकारले जनाएको छ ।