थाईल्यान्डका राजाद्वारा आफ्नै अङ्गरक्षकसँग विवाह, महारानीको उपाधि प्रदान

थाईल्यान्डका राजाद्वारा आफ्नै अङ्गरक्षकसँग विवाह, महारानीको उपाधि प्रदान

काठमाडौं, १९ वैशाख – थाईल्यान्डका राजाले आफ्नी अङ्गरक्षकसँग बिवाह गरेर महारानीको उपाधि प्रदान गरेका छन् । थाइल्याण्डका राजााले शनिवार  राज्याभिषेक गर्ने कार्यक्रम छ ।

आफ्नो राज्याभिषेक अगाडि उनको विवाह र उपाधी प्रदान गरेको समाचार बाहिर आएको हो ।छैसट्ठी वर्षीय राजा महा वजिरालङ्कर्न सन् २०१६ मा उनका पिताको निधनपश्चात् थाईल्यान्डका राजा बनेका हुन्।यसअघि उनको तीन पटक विवाह र सम्बन्धविच्छेद भएको थियो।थाईल्यान्डमा जारी गरिएको शाही विज्ञप्तिमा राजा बजिरालङ्कर्नद्वारा जनरल सुथिदा बजिरालङ्कर्नलाई महारानी सुथिदामा पदोन्नति गर्ने निर्णय गरिएको जनाइएको छ ।

रानी सुथिदा लामो समयदेखि राजा बजिरालङ्कर्नको साथ नै थिइन् । कैयौँ वर्षदेखि उनलाई राजासँगै सार्वजनिक स्थलमा देखिएको थियो।तर दुई जनाबीचको सम्बन्धलाई यसअघि आधिकारिक रूपमा स्वीकार गरिएको थिएन । थाई टेलिभिजन च्यानलहरूमा बुधवार प्रसारित वैवाहिक समारोहको दृश्यमा राजपरिवारका अन्य सदस्य एवम् दरबारका भारदारहरु उपस्थित देखिन्छन् ।दृश्यमा राजाले रानी सुथिदाको शिरमा पवित्र जल छर्किएको देखिन्छ । त्यसपछि राजदम्पतिले विवाह रजिस्टरमा हस्ताक्षर गरेको देखिन्छ ।

सन् २०१४ मा बजिरालङ्कर्नले थाई एअरवेजकी भूतपूर्व परिचारिका सुथिदालाई आफ्नो अङ्गरक्षक दलको उपकमान्डर नियुक्त गरेका थिए।