किभ, ८वैशाख। युक्रेनमा राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान आइतबार बिहानैदेखि शुरु भएको छ । चुनावमा राष्ट्रपति पेट्रो पोरोशेन्को र हास्य कलाकार भोलोडिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पछिल्ला जनमत सर्वेक्षणले हास्य कलाकार जेलेन्स्की निर्वाचित हुने सम्भावना रहेको देखाएका छन् ।रासस
यसअघि सम्पन्न पहिलो चरणको चुनावमा वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध जेलेन्स्की र पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्कोले कडा चुनौती दिनुभएको थियो । कलाकार जेलेन्स्कीले राष्ट्रपति पेट्रो पोरोशेन्कोको भन्दा दोब्बर मत प्राप्त गर्नुभएको थियो तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्नुभएको थिएन ।
युक्रेनी चुनाव आयोगका अनुसार जेलेन्स्कीले ३०.२ प्रतिशत र पोरोशेन्कोले १६.७ प्रतिशत मात्र मत प्राप्त गर्नुभएको थियो भने पूर्व प्रधानमन्त्री युलियाले १३.०८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका थिए । पछिल्ला वर्षहरुमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वी भेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र सङ्घर्षबाट युक्रेन आक्रान्त छ ।
युक्रेनको संविधान अनुसार कुनै उम्मेदवारले पूर्ण बहुमत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच दोस्रो चरणको चुनाव हुन्छ ।