काठमाडौं । प्रदेश प्रमुख नियुक्तिमा थप ढिलाइ भए माघ २४ गतेका लागि निर्धारित राष्ट्रिय सभाको चुनाव सार्नुपर्ने अवस्था आउन सक्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताएका छन्।
प्रदेश प्रमुखले शपथ दिलाएपछि मात्रै प्रदेश सभाका सदस्यहरू राष्ट्रिय सभाको चुनावका लागि मतदाता बन्न पाउने कानूनी प्रावधान छ।
राष्ट्रिय सभा निर्वाचनका लागि माघ ७ गते मतदाता नामावली प्रकाशित गर्ने तालिका बनाइसकेको आयोगले प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेश सभामा चुनिएका समानुपातिक सांसदको परिणाम बुझाउन पाएको छैन।
राष्ट्रिय सभा निर्वाचनका २,०५६ मतदातामा प्रदेश सभाको समानुपातिक र प्रत्यक्ष गरी ५ सय ५० जना छन्। आयोगका प्रवक्ता नवराज ढकालले भने, “माघ ७ गते आयोगले मतदाता नामावली प्रकाशित गर्न सकिएन भने राष्ट्रिय सभा निर्वाचन प्रभावित हुनेछ। त्यसैले छिटोभन्दा छिटो प्रदेश प्रमुख नियुक्ति हुन जरुरी छ।”
कतिपयले राष्ट्रिय सभा कार्यतालिकालाई छोट्याएर माघ २४ गतेको निर्धारित समयमा नै गर्न सकिने बताए पनि तालिका भने हेरफेर गर्न नमिल्ने आयोगले जनाएको छ।
त्यसबारे प्रवक्ता ढकाल भन्छन्, “नामावली सार्वजनिक गर्ने दावी विरोध गर्ने लगायतका सम्पूर्ण निर्वाचन तालिका कानूनी रुपमा नै व्यवस्थित भएका हुन्छन्। कार्यतालिकामा थप समय राखिएको छैन। आवश्यक समय मात्र राखिएको छ।”
सातवटै प्रदेशबाट राष्ट्रिय सभामा चुनिने सदस्यको संख्या बराबरी छ तर प्रदेशगत रूपमा मतदाता संख्या भने फरक फरक हुनेछ । प्रदेशअनुसार प्रदेशसभाको सदस्य संख्या र स्थानीय तहको संख्या फरक रहेकाले मतदाता संख्या पनि त्यहीअनुसार घटीबढी हुने हो । कुल मतदाताको संख्या २ हजार ५६ छन् ।
राष्ट्रिय सभा निर्वाचन अध्यादेशले एक जना प्रदेशसभा सदस्यको मतभार ४८ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ निर्धारण गरेको छ ।
सबभन्दा बढी मतदाता रहेको प्रदेश २ का सबै मतदाताको मतभार १० हजार ३२ हुने भएको छ । उक्त प्रदेशमा प्रदेशसभा सदस्यको संख्या १ सय ७ तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको कुल संख्या २ सय ७२ छ । स्थानीय तहको संख्या १ सय ३६ रहेकाले स्थानीय तहबाट मतदाता संख्या त्यसको दोब्बर रहनेछ । उक्त प्रदेशको कुल मतदाता संख्या ३ सय ७९ हो, जुन अन्य सबै प्रदेशभन्दा बढी हो ।
त्यसपछि प्रदेश १ मा मतदाता धेरै छन् । तर मतभारको तुलना गर्ने हो भने प्रदेश २ पछाडि प्रदेश ३ छ ।
प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका २ सय ७४ गरी ३ सय ६७ मतदाता छन् । उक्त प्रदेशमा स्थानीय तह १ सय ३७ छन् । सबै मतदाताको मतभार ९ हजार ३ सय ९६ हुन आउँछ ।
प्रदेश नम्बर ३ मा स्थानीय तहको संख्या १ सय १९ रहेकाले स्थानीय तहबाट २ सय ३८ जना र प्रदेशसभा सदस्य १ सय १० गरी३ सय ४८ जना कुल मतदाता छन् । यस प्रदेशका मतदाताको मतभार ९ हजार ५ सय ६४ हुनेछ ।
मतदाताको संख्या र मतभारमा प्रदेश ४ भने चौथो स्थानमा छ । त्यहाँ प्रदेशसभा सदस्य ६० र स्थानीय तहका १ सय ७० गरी कुल मतदाताको संख्या २ सय ३० छन् । उक्त प्रदेशमा स्थानीय तहको संख्या ८५ छ । सबै मतदाताको मतभार भने ७ हजार २ सय ३६ पुग्छ ।
प्रदेश ५ मा सबै मतदाताको मतभार ५ हजार ९ सय ४० पुग्छ । त्यहाँ प्रदेशसभा सदस्यको संख्या ६० तथा स्थानीय तहबाट २ सय १८ गरी कुल ३ सय ५ मतदाता छन् । उक्त प्रदेशमा स्थानीय तहको संख्या १ सय ९ छ ।
प्रदेश ६ मा अन्य सबै प्रदेशभन्दा कम मतदाता छन् । त्यहाँ प्रदेशसभा सदस्य ४० र स्थानीय तहका १ सय ५८ गरी कुल १ सय ९८ मतदाता मात्रै छन् । ती मतदाताको मतभार ४ हजार ७ सय ६४ हो । उक्त प्रदेशमा स्थानीय तहको संख्या ७९ छ ।
कुल मतदाता २ सय २९ रहेको प्रदेशसभा ७ मा मतदाताको मतभार ५ हजार ७ सय ८ हुन आउँछ । उक्त प्रदेशमा प्रदेशसभा सदस्यको संख्या ५३ र स्थानीय तहबाट मतदाता हुने संख्या १ सय ७६ छन् । त्यहाँ स्थानीय तहको संख्या ८८ छ ।