

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनकोसी–मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ठेक्का रद्द प्रकरणमा प्रधानमन्त्रीको टिममाथि स्वतन्त्र तथा निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
कर्मचारीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक दबाब दिँदै ठेक्का रद्द गर्न लगाइएको आरोप लगाउँदै उनले उक्त प्रक्रियामाथि प्रश्न उठाएका हुन् ।
आङदेम्बेले यस विषयमा संघीय संसद्को लेखा समितिले समेत प्रश्न उठाएको स्मरण गराएका छन् । ठेक्का रद्दसँग सम्बन्धित कागजात बुझाउन समितिले निर्देशन दिएको उल्लेख गर्दै उनले प्रधानमन्त्री कार्यालयको दबाबमा ठेक्का रद्द गरिएको दाबी गरेका छन् ।
‘सुनकोसी–मरिण डाइभर्सनको ठेक्कामा ६ वटा कम्पनीले बोलपत्र पेस गरेका थिए । तीनवटा प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका थिए,’ उनले भनेका छन्, ‘आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक दबाब दिइयो र ठेक्का रद्द गरियो ।’
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आङदेम्बेले यो आयोजना मधेसका पाँच जिल्लाका करिब एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले अघि बढाइएको उल्लेख गरेका छन् । २८ मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय गौरवको आयोजनाको १३.३ किलोमिटर सुरुङको ब्रेक थ्रु भइसकेको पनि उनले स्मरण गराएका छन् ।
‘यस्तो आयोजना सरकारको मनपरी र प्रशासनिक हस्तक्षेपको सिकार बन्नु दुर्भाग्यपूर्ण छ,’ उनले प्रश्न गरेका छन्, ‘भोलि मधेसका जनता सडकमा उत्रिए त्यसको जिम्मेवारी कसले लिने ?’
प्रधानमन्त्री कार्यालय कर्मचारीलाई थुनेर मानसिक यातना दिने निकाय नभएको उल्लेख गर्दै उनले घटनामा संलग्न प्रधानमन्त्रीको टिममाथि अनुसन्धान गर्न माग गरेका छन् ।
‘ठेक्का रद्द गर्ने अधिकार सरकारसँग होला, तर कानुन कुल्चिने अधिकार छैन,’ आङदेम्बेले भनेका छन्, ‘यस घटनामा प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्छ ।’
उनले मधेसको विकासमा राजनीति नगर्न पनि आग्रह गरेका छन् । ‘मधेसको विकासलाई राजनीतिक प्रतिशोधको बन्धक बनाउन पाइँदैन । जनताको भविष्यसँग खेलवाड गरेर सरकार जवाफदेहिताबाट भाग्न सक्दैन,’ उनको भनाइ छ ।