

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा सङ्गठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाको सभापतित्वमा बुधबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए।
महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा सङ्गठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने विषय समेटिएको छ। त्यस्तै, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषयमा छलफल हुनेछ।
बैठकमा सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा पनि प्रारम्भिक छलफल गर्ने कार्यसूची रहेको छ। यसका साथै विविध विषयमा समेत छलफल हुने जनाइएको छ।
बुधबार दिउँसो बसेको बैठकको सुरुआतमा सभापति थापाले समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गरेका थिए।