देउवा पक्षको महाधिवेशन तयारी : ६० जिल्लाको अधिवेशन सम्पन्न

देउवा पक्षको महाधिवेशन तयारी : ६० जिल्लाको अधिवेशन सम्पन्न
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनको तयारी र हालसम्मको प्रगतिबारे बुधबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा छलफल गरेको छ। छलफलमा नेता प्रकाशशरण महतले अहिलेसम्म ७७ जिल्लामध्ये ६० जिल्लाको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए। बाँकी जिल्लाको अधिवेशन चारदेखि पाँच दिनभित्र सम्पन्न गर्ने तयारी रहेको उनले बताए।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन पनि करिब सम्पन्न भइसकेको महतले जानकारी दिए।

सात प्रदेशमध्ये गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भएको छ। बाँकी प्रदेशको अधिवेशन मंसिर १९ गतेभित्र सक्ने तयारी रहेको उनले बताए। देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशन मंसिर २१ गतेदेखि काठमाडौंमा सुरु गर्ने तयारी गरेको छ। महाधिवेशनका लागि व्यवस्थापन, दस्तावेज र विधानलगायत विषयमा थप तयारी गर्नुपर्ने अवस्था रहेको महतको भनाइ छ।

महाधिवेशन तयारी समितिको संयोजकमा शशांक कोइराला छन्। उनलाई महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारीसमेत दिइएको छ। प्रदेश तहसम्म पदाधिकारी र कार्यसमितिको आकार बढाइएपछि केन्द्रमा पनि पदाधिकारी संख्या बढ्न सक्ने चर्चा छ। तर, यस विषयमा औपचारिक छलफल हुन बाँकी रहेको नेता महतले बताए।